Logo

२९ जेठ,वीरगञ्ज । सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोध गर्दै प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासंघ पर्साले धर्ना कार्यक्रम आयोजना गरेको छ।

महासंघले शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा एक घण्टे धर्ना कार्यक्रम गरेको हो। कार्यक्रममा विभिन्न मिडिया सञ्चालक, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने र प्रदेश अध्यक्ष श्याम बन्जारा ले सरकारी नीतिले सञ्चारमाध्यमबीच विभेद सिर्जना गरेको आरोप लगाए।

उनीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारमाथि असर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल ले सरकारको मिडियाप्रतिको नकारात्मक दृष्टिकोणको प्रतिवाद गर्न सञ्चार क्षेत्र एकजुट हुनुपर्ने बताएका छन्। उनले सञ्चार क्षेत्रको भूमिकालाई कमजोर पार्ने प्रयास सफल नहुने दाबी गर्दै प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहनुपर्नेमा जोड दिए।

महासंघले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र निष्पक्ष सूचना प्रवाहको संरक्षणका लागि सरकारलाई दबाब दिन धर्ना कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सहभागीहरूले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी र समान हुनुपर्ने माग गरेका छन्।


सम्बन्धित समाचार