Logo

२९ जेठ,काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) सहितको टोली प्रवेश गरेको भन्दै स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ।

स्थानीयवासीका अनुसार सीमा क्षेत्र पार गर्दै एसएसबीको टोली नेपाली भूमिमा प्रवेश गरेको थियो। भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासीले विरोध तथा प्रतिकार गरेका थिए। एक स्थानीयले बिहान नियमित गस्तीका क्रममा एसएसबीको टोली उक्त क्षेत्रमा आएको बताएका छन्।

सुस्तामा भारतीय सुरक्षाकर्मीको गतिविधिबारे प्रतिनिधिसभाको बैठकमा पनि कुरा उठाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी प्रवेश गरी स्थानीय नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले संसदमा रक्षामन्त्रीको भूमिकामाथि प्रश्नसमेत उठाएका छन्।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको हुनसक्ने आशयको अभिव्यक्ति दिएका थिए, जसले व्यापक चर्चा पाएको थियो।

यता पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले घटनापछि अवस्था सामान्य रहेको जानकारी दिएका छन्। घटनाबारे सम्बन्धित निकायमार्फत थप जानकारी संकलन भइरहेको जनाइएको छ।


सम्बन्धित समाचार