Logo

२९ जेठ,काठमाडौं ।  सरकारले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने संकेत गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रतिवेदन सार्वजनिक गर्ने विषय आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने बताए।

छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएलगत्तै गृहमन्त्री गुरुङ मन्त्रालयमा फर्किसकेका छन्। यसबीच सरकारले गुरुङलाई ‘चोख्याएर’ पुनः जिम्मेवारीमा फर्काएको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका छन्। विपक्षी दलका नेताहरूले प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरेका छन्।

प्रतिनिधिसभामा पनि विपक्षी सांसदहरूले उक्त विषय उठाएका थिए। तर शिक्षामन्त्री पोखरेलले छानबिन प्रक्रिया निष्पक्ष रहेको दाबी गर्दै समिति गठनको औचित्यमाथि प्रश्न उठाउन नहुने बताए।

‘चोख्याएर ल्याउने भए त समिति गठन नै हुँदैनथ्यो,’ उनले भने, ‘प्रतिवेदन सार्वजनिक गर्ने विषय आवश्यकता अनुसार निर्णय हुन्छ। हालसम्म त्यस्तो कुनै निर्णय भएको छैन।’

प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषयमा सरकारको आगामी निर्णयलाई विपक्षी दलहरूले चासोका साथ हेरिरहेका छन्।


सम्बन्धित समाचार