२९ जेठ,काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
आज विशेष अदालतमा दायर गरिएको मुद्दामा ३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ। अभियोगपत्रमा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।
अभियोग अनुसार दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।
त्यसैगरी, शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
मुद्दामा संलग्न अन्य प्रतिवादी तथा कम्पनीहरूको नाम र उनीहरूविरुद्धको दाबी रकम भने अदालतमा पेश गरिएको अभियोगपत्रअनुसार सार्वजनिक गरिने जनाइएको छ। विशेष अदालतले अब मुद्दामाथिको प्रारम्भिक सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
















