Logo

३१ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन लागेको बहुप्रतीक्षित ऐतिहासिक सम्झौतामा आज नै हस्ताक्षर हुने दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सम्झौतामा हस्ताक्षर हुनासाथ विश्वकै रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ तुरुन्तै सबैका लागि खुला गरिने घोषणा गरेका हुन् ।

तर, राष्ट्रपति ट्रम्पको यो उत्साहजनक दाबी इरानी पक्षको भनाइसँग भने बाझिएको देखिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यसअघि नै दस्तावेजहरूमा आइतबार नै हस्ताक्षर भइहाल्ने सम्भावनालाई नकार्दै सम्झौता ‘आगामी केही दिनभित्र’ हुन सक्ने प्रष्ट पारेका थिए । हस्ताक्षरको समयलाई लिएर दुवै देशका उच्च अधिकारीहरूबीच देखिएको यो विरोधाभासले वार्ताको अन्तिम कडीलाई लिएर केही अन्यौलता भने सिर्जना गरेको छ ।

गत फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य हमला गरेपछि मध्यपूर्वी क्षेत्र चरम अशान्त बनेको छ । सोही सैन्य तनावका कारण विश्वभर इन्धन र ग्यास ढुवानीका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने लाइफलाइन ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग पूर्ण रूपमा बन्द छ, जसले विश्व बजारमा ऊर्जा सङ्कट चुल्याएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार दुवै पक्षका अधिकारीहरूबीच प्रत्यक्ष भेटघाट गरेर सम्झौता गर्दा प्राविधिक (लजिस्टिक) चुनौतीहरू थपिने र प्रक्रियामा अवरोध आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ‘भर्चुअल’ माध्यमबाट हस्ताक्षर गर्ने योजना बनाइँदै छ ।


सम्बन्धित समाचार
भर्खरै