Logo

 १ असार,काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यसहित बहुप्रतीक्षित ऐतिहासिक शान्ति सम्झौताको घोषणा भएको छ। मुख्य मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आइतबार राति (नेपाली समयानुसार सोमबार बिहान) उक्त सम्झौताको घोषणा गरेका हुन्।

लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्झौता सम्पन्न भएको पुष्टि गर्दै यसलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो कूटनीतिक उपलब्धि बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि यो सम्झौताले आगामी ५० वर्षसम्म मध्यपूर्वको भू–राजनीतिक अवस्थालाई नयाँ दिशा दिने दाबी गरेका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा भेन्सले सम्झौताले क्षेत्रीय युद्ध र तनावको युग अन्त्य गरी समृद्धि र स्थिरताको नयाँ चरण सुरु गर्ने बताएका छन्। उनका अनुसार यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन तथा अमेरिकी अर्थतन्त्रलाई समेत राहत पुर्‍याउन सक्छ।

झण्डै चार महिना लामो युद्धपछि प्राप्त भएको यस सहमतिमा कतार, साउदी अरब र टर्कीले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। पाकिस्तानका प्रधानमन्त्री सरिफका अनुसार दुवै पक्ष तत्काल हतियार बिसाउन तथा स्थायी रूपमा सैन्य कारबाही रोक्न सहमत भएका छन्। उनले सम्झौता लेबनानको मोर्चामा समेत लागू हुने स्पष्ट पारे।

सम्झौताको घोषणा भएपछि राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ खातामा प्रतिक्रिया दिँदै इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा विश्वकै महत्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा खुला गर्ने आदेश दिएको बताएका छन्।

यद्यपि युद्धविराम सोमबारदेखि नै कार्यान्वयनमा आइसकेको भए पनि औपचारिक तथा कानुनी हस्ताक्षर भने आगामी जुन १९ मा स्विट्जरल्याण्डको जेनेभामा हुने तय भएको छ। हस्ताक्षर समारोहमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स सहभागी हुने कार्यक्रम रहेको छ भने सुरक्षा तथा कूटनीतिक तयारी पूरा भए राष्ट्रपति ट्रम्प स्वयं उपस्थित हुन सक्ने जनाइएको छ।

हस्ताक्षरपछि अमेरिका र इरान ६० दिने प्राविधिक वार्तामा प्रवेश गर्नेछन्। उक्त चरणमा इरानको परमाणु कार्यक्रम, आर्थिक प्रतिबन्ध हटाउने प्रक्रिया तथा युद्धपछिको पुनर्निर्माणसम्बन्धी विस्तृत कार्ययोजना तय गरिने बताइएको छ।

यस सम्झौताले मध्यपूर्वमा लामो समयदेखि जारी अस्थिरता अन्त्य गर्दै क्षेत्रीय तथा विश्व शान्तिका लागि नयाँ अध्याय सुरु गर्न सक्ने विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार