Logo

४ असार, काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको म्याद तामेलीको जवाफमा पूर्वमन्त्री आरजु राणा देउवाले इमेलमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

अख्तियारले आरजुको बूढानीलकण्ठस्थित निवासमा तीन दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै म्याद तामेल गरेपछि, उनले आफू हाल उपचारको सिलसिलामा विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने व्यहोरासहितको इमेल पठाएकी हुन् । अख्तियार स्रोतका अनुसार, उनले अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै स्वास्थ्य उपचारका कारण उपस्थित हुन नसक्ने बाध्यता दर्साएकी छिन् ।

आरजु राणा देउवा र उनका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हाल लामो समयदेखि देशबाहिर रहेका छन् । अख्तियारका उच्च अधिकारीहरूका अनुसार, राहदानी खरिद प्रकरणका कागजी फाइलहरूमा मन्त्रीको तहबाट कुनै प्रत्यक्ष निर्णय वा लिखित निर्देशन नदेखिए पनि यस प्रक्रियामा उनको संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।

प्राप्त उजुरीहरूमा राहदानीको ठेक्कापट्टाको डिजाइन गर्ने, प्याकेज तयार पार्ने र ठेकेदारहरू सेटिङ गर्ने कार्यमा आरजु राणा र उनका छोरा जयवीर देउवाको समेत भूमिका रहेको आरोप लगाइएको छ ।

अनुसन्धानको मुख्य पाटोमा छोरा जयवीर देउवा र उनीनिकट समूहले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग गरेको बाक्लो भेटघाट र संवादलाई राखिएको छ । साथै, ई–पासपोर्टको ठेक्का प्रक्रियामा प्राविधिक मापदण्ड मिचेर गरिएको मूल्यांकन र सर्भर खरिदमा भएको अनियमितासम्बन्धी उजुरीहरू अख्तियार र संसदीय समितिमा परेका थिए ।

आरजुका तर्फबाट आएको यो इमेलपछि अब अख्तियारले उनीहरूको स्वास्थ्य अवस्था र विदेश बसाइको म्यादलाई कसरी लिन्छ र आगामी दिनमा अनुसन्धानलाई कुन दिशा दिन्छ, त्यो चासोको विषय बनेको छ ।


सम्बन्धित समाचार