४ असार,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा दरबन्दीअनुसार अधिकृत तहका कर्मचारी अभाव भएपछि खरिदार तथा तल्लो तहका कर्मचारीहरूले शाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुपरेको छ।
क्याम्पसमा केही कर्मचारीहरूको सरुवा तथा अवकाशपछि शाखा प्रमुखका पदहरू रिक्त भएपछि आन्तरिक रूपमा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिइएको क्याम्पस प्रशासनले जनाएको छ।
हालै जेठ १९ गते सामान्य तथा भण्डार शाखा प्रमुख गीता श्रेष्ठ अवकाश भएपछि सो शाखाको जिम्मेवारी खरिदार जयप्रकाश साहलाई दिइएको छ। त्यस्तै, करिब दुई महिनाअघि परीक्षा शाखा प्रमुख रहमान हवारी विराटनगर सरुवा भएपछि उक्त शाखाको जिम्मेवारी अस्थायी कर्मचारी मनोहर साहले सम्हालिरहेका छन्।
यसैगरी, लेखा प्रमुख गुन्जन सिंह पनि दुई महिनाअघि विराटनगर सरुवा भएपछि उक्त शाखाको जिम्मेवारी खरिदार अवधकिशोर साहले लिएका छन्। यसअघि सो शाखा नायब सुब्बा रुपा झाको जिम्मेवारीमा रहेको थियो।
त्यसैगरी, शिक्षा शास्त्र प्रशासन शाखा प्रमुखको जिम्मेवारी हाल ल्याब असिस्टेन्ट रामचन्द्र कलवारले सम्हालिरहेका छन्। उनी केही महिनादेखि सो शाखाको कार्यसम्पादन गर्दै आएका छन्।
क्याम्पसमा कर्मचारी अभावका कारण प्रशासनिक कामकाज प्रभावित हुने अवस्था सिर्जना भए पनि आवश्यक दरबन्दी पूर्ति नहुँदा समस्या जटिल बन्दै गएको बताइएको छ। कर्मचारी स्रोतका अनुसार क्याम्पसमा शैक्षिक बेथिति तथा आर्थिक अनियमिततासम्बन्धी विवादका कारण त्रिभुवन विश्वविद्यालयले नयाँ कर्मचारी पठाउन ढिलाइ गरेको हो।
यसअघि क्याम्पस प्रशासनले दरबन्दी थप तथा कर्मचारी व्यवस्थापनका लागि पटक–पटक अनुरोध गर्दै आए पनि हालसम्म सुनुवाइ नभएको जनाइएको छ।
क्याम्पस प्रमुख डा. केशव यादवले ठूलो क्याम्पस भएकाले पर्याप्त कर्मचारी अत्यावश्यक रहेको बताउँदै दरबन्दी थप तथा नयाँ कर्मचारी नियुक्तिका लागि केन्द्रमा पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए।
















