Logo

 ४ असार,काठमाडौं । सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित प्रवेश गरेको घटनाको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय जेनजी नागरिक अभियन्ताहरू रिहा भएका छन्। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनीहरूलाई तत्काल रिहा गर्न आदेश दिएपछि उनीहरू थुनामुक्त भएका हुन्।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार भएको सुनुवाइपछि अजय सोडारी (पूर्ण बहादुर बुढा) र वीरजंग विकलाई रिहा गर्न आदेश दिएको हो।

सुस्ता सीमा क्षेत्रमा भारतीय एसएसबी हतियारसहित प्रवेश गरेको विषयमा उनीहरूले गत जेठ २९ गते काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनपछि फर्किने क्रममा उनीहरूलाई बाटोबाटै पक्राउ गरिएको थियो।

सर्वोच्च अदालतले सीमा सुरक्षासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको अधिकार भएको स्पष्ट गर्दै त्यस्तो गतिविधिलाई संविधान वा कुनै कानुन विपरीत मान्न नमिल्ने ठहर गरेको छ।

अदालतले आफ्नो आदेशमा भनेको छ, “नेपालको सीमा सुरक्षा हुनुपर्छ भन्ने विषयमा सचेत नागरिकले उठाएको आवाजलाई गैरकानुनी मान्न मिल्दैन।”

यससँगै अदालतको आदेशपछि पक्राउ परेका दुवै अभियन्ता रिहा भएका छन्।


सम्बन्धित समाचार