Logo

५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।

बोर्डको तथ्याङ्कअनुसार यस वर्ष परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले ग्रेडेड प्राप्त गरेका छन् भने १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन् । समग्र नतिजालाई केलाउँदा नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी कुल ४० जनाको परीक्षा रद्द गरिएको छ ।

विद्यार्थीहरूको जीपीए प्राप्तिको विवरणलाई हेर्दा, उत्कृष्ट नतिजा ल्याउनेहरूको संख्या उल्लेख्य छ । बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १७ हजार ७८६ जना छन् ।

त्यसैगरी, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ र २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना रहेका छन् । साथै, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ र १.६१ देखि २ जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन् ।

आंशिकतर्फको नतिजा भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । आंशिक परीक्षार्थीका रूपमा सहभागी ८५ हजार ९२९ जनामध्ये ४२।३८ प्रतिशत अर्थात् ३६ हजार ४२० जना मात्र ग्रेडेड भएका छन् ।

नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थीमध्ये समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । नतिजा हेर्न चाहने परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड वा नेपाल टेलिकमको वेबसाइट, एसएमएस, आइभीआर तथा युएसएसडी सेवामार्फत आफ्नो नतिजा सहजै प्राप्त गर्न सक्नेछन् ।


सम्बन्धित समाचार