Logo

५ असार, काठमाडौं । करिब ३० वर्षअघि चोरी भई अमेरिकाका विभिन्न सङ्ग्रहालयमा पुगेका दोलखाका अमूल्य ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई मल्लकालीन मुकुट अन्ततः आफ्नो थातथलो फर्किएका छन् ।

कूटनीतिक र कानुनी पहलकदमीमार्फत स्वदेश फिर्ता ल्याइएका यी ऐतिहासिक सम्पदालाई बिहीबार राजकीय सम्मान र परम्परागत धार्मिक विधिपूर्वक दोलखामा पुनःस्थापना गरिएको छ । लामो समयको अन्तरालपछि आफ्ना कुलदेवता घर फर्किएको यो ऐतिहासिक क्षणमा स्थानीयवासी भावुक बनेका थिए भने चरिकोटदेखि दोलखा बजारसम्मको वातावरण उत्सवमय बनेको थियो ।

राष्ट्रिय सङ्ग्रहालय, छाउनीबाट कडा सुरक्षाबिच लगिएका मुकुटहरूलाई चरिकोटमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र सर्वसाधारणले भव्य स्वागत गरेका थिए । बाजागाजा र धार्मिक विधिपूर्वक नगर परिक्रमा गराउँदै १६औँ शताब्दीका यी मुकुटहरूलाई गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा लगिएको थियो ।

तान्त्रिक विधिअनुसार अभिषेक र प्राणप्रतिष्ठा गर्दै यी मुकुटहरूलाई पुनः स्थापित गरिएको छ । मल्लकालीन राजा गोविन्ददेवका सन्तानको अंशबन्डामा परेका यी मुकुटहरू वर्षभरि गोप्य कोठामा राखिने र इन्द्रजात्राका अवसरमा मात्र सार्वजनिक गरिने परम्परा रहेको छ ।

वि.सं.२०५० र २०५१ सालमा नक्छे प्रधान खलकको कुलघरबाट चोरी भएपछि दोलखाको धार्मिक जात्रा र परम्परा लामो समयदेखि प्रभावित बनेको थियो ।
ुलस्ट आर्ट्स अफ नेपाल’ को सक्रियतामा यी मुकुटहरू अमेरिकाको डलास र रुबिन म्युजियममा रहेको पत्ता लागेपछि पुरातत्त्व विभाग, नेपाली महावाणिज्य दूतावास र अमेरिकी निकायको समन्वयमा फिर्ता ल्याउन सम्भव भएको हो ।

मुकुट फिर्ता ल्याउने अभियानको नेतृत्व नक्छे प्रधान खलकका ८३ वर्षीय ज्येष्ठ पुजारी यज्ञकुमार प्रधानले गरेका थिए, जससँगै दोलखाले आफ्नो हराएको गौरवपूर्ण सम्पदा पुनः प्राप्त गरेको छ ।


सम्बन्धित समाचार