Logo

५ असार, काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने उद्देश्यका साथ देशव्यापी रूपमा ‘मिसन पार्टी जागरण २०८३’ विशेष अभियान अघि बढाएको छ ।

असार ४ गते विराटनगरबाट औपचारिक रूपमा थालनी भएको उक्त अभियान अन्तर्गत शुक्रबार लुम्बिनीमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण कार्यक्रम हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार, वर्तमान राजनीतिक परिदृश्यमा कार्यकर्तामा नयाँ उत्साह भर्दै जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन यो अभियान महत्त्वपूर्ण रहनेछ ।

अभियानलाई प्रभावकारी बनाउन पार्टीले ‘६–ज’ को नीतिलाई टोल–टोलसम्म पुर्‍याउने रणनीति लिएको छ । ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबज अध्ययन र आत्मसात् गरौँ, तथा योग्य एवं सक्षम नेतृत्व तयार गरौँ’ भन्ने संकल्पका साथ अघि बढेको एमालेले सङ्गठनलाई प्रविधिमैत्री र गतिशील बनाउने लक्ष्य राखेको छ । विशेष गरी वडा र पालिका तहमा हुने यो अभियानले सङ्गठनको जगलाई थप मजबुत पार्ने पार्टीको बुझाइ छ ।

यस अभियानको सबैभन्दा विशिष्ट पक्षका रूपमा एमालेले नेतृत्वको नयाँ पुस्तालाई अघि सार्ने नीतिलाई लिएको छ । पार्टीले वडा कमिटीमा ३५ वर्षमुनि र पालिका कमिटीमा ४० वर्षमुनिका युवालाई नेतृत्वको जिम्मेवारी दिने दूरगामी निर्णय गरेको छ ।

युवा पुस्तालाई निर्णायक तहमा पुर्‍याउने यो कदमले पार्टीमा थप ऊर्जा थप्ने एमालेको अपेक्षा छ । लुम्बिनीमा हुने अभिमुखीकरणमार्फत केन्द्रीय प्रतिनिधिहरूलाई अभियानलाई कसरी परिणाममुखी बनाउने भन्नेबारे स्पष्ट कार्यदिशा दिइनेछ ।


सम्बन्धित समाचार