७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुन केही घण्टा बाँकी रहँदा उद्घाटनस्थल वर्षाका कारण प्रभावित बनेको छ। शनिबार बिहान परेको वर्षापछि महाधिवेशन उद्घाटनका लागि तयार गरिएको चितवनको गेष्टहाउस चौर जलमग्न बनेको हो।
जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरको होचो भागमा पानी जम्दा सहभागीहरूका लागि बनाइएको मुख्य ‘जर्मन ह्याङ्गर’ भित्रै हिलाम्मे अवस्था सिर्जना भएको छ। कार्यक्रम प्रभावित हुन नदिन आयोजक पक्षले मोटर प्रयोग गरेर पानी फाल्ने तथा जमेको पानी हटाउने काम तीव्र रूपमा अघि बढाएको छ।
महाधिवेशनमा सहभागीहरू बस्नका लागि तीनवटा छुट्टाछुट्टै सेक्शनसहितको ह्याङ्गर निर्माण गरिएको छ। तीमध्ये करिब २० मिटर चौडा र ७५ मिटर लामो मुख्य खण्डमा सबैभन्दा बढी पानी जमेको छ। केही स्थानमा गोलीगाँठोसम्म डुब्ने गरी पानी जमेकाले स्वयंसेवक र प्राविधिक टोली बिहानैदेखि व्यवस्थापनमा जुटेका छन्।
रास्वपाका एक नेताका अनुसार मुख्य सेक्शनमा जमेको पानी हटाउन मोटरबाट निरन्तर पानी फाल्ने काम भइरहेको छ। “मुख्य ह्याङ्गरमुनि धेरै पानी जमेको छ, अहिले त्यसलाई हटाएर कार्यक्रमस्थल प्रयोगयोग्य बनाउने प्रयास भइरहेको छ,” उनले बताए।
स्थानीयका अनुसार गेष्टहाउस चौर होचो भूभागमा पर्ने भएकाले वर्षा हुनेबित्तिकै पानी जम्ने समस्या पुरानै हो। यही कारण प्रत्येक वर्ष ठूला कार्यक्रमका बेला पानी निकास व्यवस्थापन चुनौती बन्दै आएको छ।
घाम र वर्षाबाट सहभागीलाई जोगाउन निर्माण गरिएको जर्मन ह्याङ्गरमा करिब पाँच हजार जना बस्न सक्ने क्षमता रहेको आयोजकले जनाएको छ। मुख्य सेक्शनमा पानी जमेको भए पनि माथिल्लो भागका ह्याङ्गरमा भने ठूलो समस्या नरहेको बताइएको छ। तल्लो भागमा भने छिपछिपे पानी देखिएको छ।
दिउँसो २ बजे निर्धारित उद्घाटन सत्रअघि पानीको व्यवस्थापन पूरा हुने र स्थल प्रयोगयोग्य बन्ने आयोजकको विश्वास छ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर गर्ने कार्यक्रम तय गरिएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमै हुने भए पनि बन्दसत्र भने चितवन उद्योग संघको सभाहलमा सञ्चालन गरिने व्यवस्था गरिएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामै वर्षाले चुनौती थपे पनि आयोजक पक्षले उद्घाटन कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्ने तयारी जारी राखेको जनाएको छ।
















