Logo

८ असार, काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२, ज्याम्दीस्थित वेतेनी बगरमा गएराति टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

बालुवा लोड गर्ने क्रममा ब्याक गर्ने बेला बा४ख ९८२५ नम्बरको टिपरले पछाडि रोकिराखिएको बा ४ ख ९९०९ नम्बरको अर्को टिपरलाई ठक्कर दिँदा दुई सवारी साधनको बीचमा च्यापिएर पाँचखाल नगरपालिका–८ होक्से घर भई हाल पाँचखाल(४ तामाघाट बस्दै आएका १९ वर्षीय देवेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनालगत्तै आक्रोशित स्थानीयले घटनास्थलमा पुगेर दुवै टिपरमा तोडफोड गरेका छन्, जसबाट सवारी साधनका झ्यालढोका र सिसामा क्षति पुगेको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरीले दुवै टिपरलाई नियन्त्रणमा लिएको छ भने बा ४ ख ९८२५ नम्बरका चालक ललितपुरको गोदावरी नगरपालिका–६ निवासी ३९ वर्षीय दीपक सत्याललाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । बगरमा बालुवा लोड गर्ने क्रममा भएको यो हृदयविदारक घटनाले स्थानीयमा शोक छाएको छ ।


सम्बन्धित समाचार