८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिने निश्चित भएको छ ।
बन्द सत्र सञ्चालनमा देखिएको विलम्बका कारण महाधिवेशन थप एक दिन लम्बिन सक्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीले यसअघि नै केन्द्रीय समिति बैठकमा महाधिवेशनको समयावधि लम्बिन सक्ने सम्भावनाबारे छलफल गरिसकेकाले आफूहरू कुनै पनि दबाब वा हतारोमा नरहेको प्रवक्ता झाले स्पष्ट पारे । उनले महाधिवेशनको प्रक्रियालाई स्वाभाविक रूपमा लिँदै थपिएको समयका लागि आफूहरू मानसिक रूपमा तयार रहेको बताए ।
यसैबीच, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिहरूको संख्या बढेर ४ हजार ३ सयको हाराहारीमा पुगेको छ। केही प्रदेशका प्रतिनिधिहरू छुटेको जानकारी प्राप्त भएपछि उनीहरूलाई समेत समावेश गराउन पार्टीले आवश्यक गृहकार्य गरिरहेको छ ।
छुटेका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रियालाई व्यवस्थित गर्न छुट्टै टोली परिचालन गरिएको र सोहीअनुसार बन्द सत्रको तयारी अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए ।
















