८ असार,जनकपुरधाम । देशको प्रमुख गहुँ उत्पादन क्षेत्रका रूपमा परिचित मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको छ। प्रतिकूल मौसम, रोग–कीराको प्रकोप, सिँचाइ सुविधा तथा गुणस्तरीय बीउबिजनको अभावका कारण उत्पादन घटेको कृषि अधिकारीहरूले बताएका छन्।
मधेस प्रदेश कृषि निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार चालु आर्थिक वर्षमा प्रदेशभर तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा प्रतिहेक्टर १.८ मेट्रिक टन उत्पादन दरका आधारमा पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ।
गत वर्ष भने प्रदेशमा एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ३.३७ मेट्रिक टन उत्पादन दरका आधारमा सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस आधारमा यस वर्ष उत्पादनमा उल्लेखनीय कमी आएको देखिएको छ।
निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी गहुँ उत्पादन धनुषामा भएको छ। धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा खेती गरी ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको छ।
त्यसैगरी सप्तरीमा ८२ हजार ३२० मेट्रिक टन, महोत्तरीमा ७२ हजार ८०० मेट्रिक टन, बारामा ७१ हजार ९२० मेट्रिक टन, सर्लाहीमा ६९ हजार ५९६ मेट्रिक टन, पर्सामा ५९ हजार ८५२ मेट्रिक टन, रौतहटमा ५२ हजार ७४१ मेट्रिक टन तथा सिरहामा ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको छ।
मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले यस वर्षको उत्पादन घट्नुमा असमयको मौसम परिवर्तन, रोग तथा कीराको बढ्दो प्रकोप, पर्याप्त सिँचाइको अभाव र गुणस्तरीय बीउबिजन सहज रूपमा उपलब्ध हुन नसक्नु प्रमुख कारण रहेको बताउनुभयो।
कृषि क्षेत्रका सरोकारवालाहरूले उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोग, सिँचाइ पूर्वाधार विस्तार, उन्नत बीउबिजनको उपलब्धता तथा किसानलाई समयमै प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन्।















