Logo

८ असार, काठमाडौं । फिलिपिन्सको लेइते प्रान्तस्थित टाक्लोबान सहरमा रहेको सान जोसे नेशनल हाइस्कुलमा सोमबार बिहान भएको गोलीकाण्डले सिङ्गो विश्वलाई स्तब्ध बनाएको छ ।

स्थानीय समयअनुसार बिहान करिब ९ बजे विद्यालय परिसरभित्र दुई किशोरले चलाएको अन्धाधुन्ध गोली लागेर तीनजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । घटनापछि कक्षाकोठाभित्र ज्यान जोगाउन लुकेका विद्यार्थीहरूको चिच्याहट र रुवाबासीले वातावरण निकै त्रासदीपूर्ण बनेको थियो ।

प्रहरीले १५ र १४ वर्षका दुई किशोरलाई घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा विद्यालयभित्र हुने दुर्व्यवहार (बुलिइङ) वा व्यक्तिगत रिसइबीका कारण यो घटना घटेको हुन सक्ने आशंका गरिएको छ । नाबालकहरू विद्यालयसम्म कसरी हतियार पुर्‍याउन सफल भए भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा छ। घटनास्थलबाट प्रहरीले रिभल्बर र पेस्तोल बरामद गरेको छ ।

घटनालगत्तै फिलिपिन्सको शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । विद्यालय प्रमुख शेरलिटा पाल्माले घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित विद्यार्थी र शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने जानकारी दिएकी छिन् ।

फिलिपिन्समा विद्यालयभित्र यस्ता हिंसात्मक घटना निकै दुर्लभ मानिन्छन्, जसले गर्दा यस घटनाले त्यहाँको सुरक्षा व्यवस्था र किशोरवयमा बढ्दो हिंसात्मक प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार