८ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनको समय थप गरिएको छ। पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन अब असार १० गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन्।
यसअघि आइतबारदेखि सुरु भएको महाधिवेशन सोमबार र मंगलबार गरी तीन दिनमा सम्पन्न गर्ने कार्यतालिका तय गरिएको थियो। आइतबार उद्घाटन सत्र सम्पन्न भए पनि सोमबारदेखि सुरु हुने भनिएको बन्दसत्र भने सुरु हुन सकेन।
प्रतिनिधि चयन तथा व्यवस्थापनसम्बन्धी विवाद समाधानमा ढिलाइ हुँदा बन्दसत्र प्रभावित बनेको हो। यही कारणले कार्यक्रम एक दिनका लागि स्थगित गरी मंगलबारदेखि मात्र सुरु गर्ने तयारी गरिएको छ।
बन्दसत्र ढिलो हुने अवस्था बनेपछि महाधिवेशनको अवधि समेत एक दिन थप गरिएको प्रवक्ता झाले जानकारी दिए।
पार्टीभित्रको संगठनात्मक संरचना, नीति तथा नेतृत्व चयनका विषयमा छलफल हुने अपेक्षा गरिएको महाधिवेशन अब संशोधित कार्यतालिकाअनुसार अगाडि बढ्नेछ।