Logo

८ असार,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रा स्थित वीरगन्ज–पथलैया सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना र पैदल यात्री गरी तीन जना घाइते भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय जितपुर बारा बाट प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा र अस्थायी ट्राफिक पोष्ट जितपुरबाट ट्राफिकसहित ४ जनाको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा नारायणी अस्पतालमा करिब ५ बजेर १५ मिनेटतिर ३५ वर्षीय अज्ञात पुरुष पैदल यात्रीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, मोटरसाइकलमा सवार अन्दाजी २० वर्षीय डिजेन जोशी र अर्का २० वर्षीय सभ्ए अधिकारीलाई बयोधा अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकहरू दुवैको परिचय प्रारम्भिक रूपमा खुलेको भए पनि थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा राखिएको छ। घटनास्थलमा सडक अवरोध नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार