९ असार,वीरगञ्ज । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशंकामा बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उक्त ट्रकलाई थप अनुसन्धानका लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
ट्रकको जाँचका क्रममा १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको बताइएको छ। बरामद गरिएको औषधि नेपालमा प्रतिबन्धित सूचीमा पर्ने भएकाले यसको स्रोत, ढुवानीको उद्देश्य तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।