९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनअन्तर्गत रोकिएको बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ । प्राविधिक तयारी र व्यवस्थापनमा भएको ढिलाइले हिजो हुन नसकेको बन्दसत्र आज सुचारु गर्न पार्टीले तीव्र तयारी थालेको हो ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरणको काम अहिले चलिरहेको र सो प्रक्रिया सकिनासाथ १ बजेदेखि बन्दसत्र सुरु गरिने जानकारी दिएका छन् । उनले प्रतिनिधिको संख्या अनुमान गरिएभन्दा निकै बढेर ४ हजार २ सयभन्दा माथि पुगेका कारण व्यवस्थापनमा केही प्राविधिक कठिनाइ उत्पन्न भएको स्पष्ट पारे ।
‘हामीले २८ सयदेखि ३ हजारको हाराहारीमा प्रतिनिधि आउने अनुमान गरेका थियौं, तर संख्या ४२ सय नाघेकाले प्राविधिक त्रुटि हुन पुग्यो र हिजो कार्यक्रम अगाडि बढाउन सकिएन,’ उपनेता पराजुलीले भने । उनले प्रतिनिधिको कार्ड वितरणलगत्तै खाना खाने समय छुट्याएर दिउँसो १ बजेदेखि नै बन्दसत्रको औपचारिक प्रक्रिया अघि बढ्ने बताएका छन् ।
पराजुलीले बन्दसत्रमा ढिलाइ हुँदा महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीहरूमा पर्न गएको असुविधाप्रति पार्टीका तर्फबाट क्षमासमेत मागेका छन् । निर्धारित कार्यतालिकाअनुसार बन्दसत्रभन्दा अगाडिका अन्य सबै प्रक्रियाहरू भने सम्पन्न भइसकेको पार्टीले जनाएको छ ।

















