Logo

९ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मंगलबार बिहान ललितपुर ल्याइएको छ ।

सोमबार साँझ सुर्खेतबाट प्रहरीको नियन्त्रणमा परेका पौडेललाई सुरुमा बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी गरिएको थियो । तर, सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै उनलाई राति नै सार्वजनिक बसमार्फत काठमाडौँ पठाइएको थियो ।

कलङ्की र बल्खु हुँदै काठमाडौँ ल्याइएका पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा पुर्‍याइएको छ। विभागको पत्राचार र निर्देशनबमोजिम नै उनलाई पक्राउ गरिएको थियो ।

यतिखेर उनलाई थुनामा राखेर विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि आजै अदालतमा पेस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पौडेलको गिरफ्तारीसँगै एमालेले यसलाई राजनीतिक प्रतिवादको विषय बनाउने तयारी गरिरहँदा अनुसन्धान प्रक्रियाले थप चासो बढाएको छ ।


सम्बन्धित समाचार