९ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतसँग अनुमति मागेको छ ।
व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार गरेको आरोपमा पक्राउ परेका पौडेललाई विभागले मङ्गलबार अदालतसमक्ष उपस्थित गराउँदै अनुसन्धानका लागि म्याद थपको माग गरेको हो । विभागले पछिल्लो समय भट्टमाथि गरिरहेको अनुसन्धानका क्रममा पौडेलको संलग्नता र शङ्कास्पद लेनदेन देखिएपछि उनलाई पक्राउ गरेको जनाएको छ ।
पूर्वउपप्रधानमन्त्री पौडेललाई विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलमा बसिरहेका बेला नियन्त्रणमा लिइएका पौडेललाई सडक मार्ग हुँदै आज बिहान मात्र काठमाडौँ ल्याइएको हो ।
उच्च राजनीतिक पदमा रहेका व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको अभियोग लागेपछि यस घटनालाई विशेष चासोका साथ हेरिएको छ । विशेष अदालतले विभागको मागअनुसार २० दिनको समय दिने वा नदिने भन्ने सम्बन्धमा आजै निर्णय लिने सम्भावना छ ।
अदालतबाट म्याद थप भएसँगै विभागले पौडेल र व्यवसायी भट्टबीच भएको भनिएको शङ्कास्पद कारोबार, सम्पत्तिको स्रोत र अन्य वित्तीय विवरणहरूको विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाउनेछ । राजनीतिक वृत्तमा ठुलै हलचल ल्याएको यस घटनाले एमालेको आन्तरिक राजनीतिमा समेत असर पुर्याउने आकलन गरिएको छ ।

















