Logo

९ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टी सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ। चितवनमा जारी महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको सदस्यता विवरण सार्वजनिक गरेका हुन्।

महामन्त्री बुर्लाकोटीका अनुसार रास्वपाको सदस्य संख्या सातै प्रदेशमा विस्तार भएको छ। प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम सदस्य रहेका छन्।

उनले दिएको विवरणअनुसार कोशी प्रदेशमा ७३ हजार ३५५, मधेश प्रदेशमा १ लाख २१ हजार ८९९, बागमती प्रदेशमा १ लाख ८३ हजार ३२०, गण्डकी प्रदेशमा ६१ हजार ९२५, लुम्बिनी प्रदेशमा ७५ हजार ९६२ तथा कर्णाली प्रदेशमा २९ हजार ३२५ सदस्य रहेका छन्।

रास्वपाले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै देशभर अधिवेशन प्रक्रिया अघि बढाएको जनाएको छ। अहिलेसम्म ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने ६०९ पालिका र ४ हजार ३६३ वडामा पनि अधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ।

बाँकी रहेका जिल्ला, पालिका तथा वडास्तरका अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी भइरहेको पार्टीले जनाएको छ। महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले रास्वपाको संगठनात्मक विस्तार र सदस्यता वृद्धिलाई पार्टीको प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको छ।


सम्बन्धित समाचार
भर्खरै