Logo

९ असार,वीरगञ्ज । वीरगञ्जस्थित ओम नेशनल कलेजकी छात्रा कुल्सुम खातुनले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सम्मान प्राप्त गरेकी छन्। बाराको जीतपुर–सिमरा निवासी खातुनले हालै सार्वजनिक कक्षा १२ को परीक्षाफलमा ३.८८ जीपीए प्राप्त गरी पर्सा–बारा क्षेत्रकै उत्कृष्ट छात्रामध्ये एक बन्न सफल भएकी हुन्।

उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा ओम नेशनल कलेजले बिहीबार कलेज परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरी खातुनलाई सम्मान गर्नुका साथै एक थान ल्यापटप प्रदान गरेको छ। कलेजकी निर्देशक शोभा यादवले खातुनलाई खादा ओढाएर सम्मान गर्दै ल्यापटप हस्तान्तरण गरेकी थिइन्।

सम्मानपछि प्रतिक्रिया दिँदै खातुनले आफ्नो सफलताको श्रेय अभिभावकको साथ, कलेजको शैक्षिक वातावरण र व्यक्तिगत अनुशासनलाई दिइन्। उनले आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्ने लक्ष्य रहेको बताइन्।

कार्यक्रममा निर्देशक यादवले उत्कृष्ट नतिजा हासिल गरेकोमा खातुन र उनका अभिभावकलाई बधाई दिँदै विद्यार्थीको सफलताले कलेजको प्रतिष्ठा थप उचो बनाएको उल्लेख गरिन्। उनले ओम नेशनल कलेजले प्रतिभाशाली तथा मेहनती विद्यार्थीलाई प्रोत्साहन गर्न हरेक वर्ष विशेष पुरस्कार प्रदान गर्दै आएको जानकारी पनि दिइन्।

विज्ञान संकायमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको ओम नेशनल कलेज वीरगञ्जको शैक्षिक क्षेत्रमा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित छ। वीरगञ्ज महानगरपालिका–११, ओमआश्रम रोडमा रहेको कलेजमा हाल कक्षा ११ र १२ मा गरी सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

कलेजकी निर्देशक यादवका अनुसार अनुभवी तथा दक्ष शिक्षकको टोली, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। उनले कुल्सुम खातुनको उपलब्धिले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

उल्लेखनीय रूपमा, भौतिकशास्त्रका प्राध्यापक डा. लालबाबु यादवद्वारा २०४८ सालमा स्थापित ओम नेशनल कलेजले विज्ञान शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कलेज स्थापना भएपछि बारा–पर्साका विद्यार्थीलाई गुणस्तरीय विज्ञान शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको मानिन्छ।

डा. यादवको निधनपछि उनकी पत्नी शोभा यादवले कलेजको नेतृत्व सम्हाल्दै शैक्षिक गुणस्तरलाई निरन्तरता दिँदै आएकी छन्। यस वर्ष पनि कुल्सुम खातुनको उत्कृष्ट नतिजाले कलेजको शैक्षिक प्रतिष्ठालाई थप मजबुत बनाएको कलेज प्रशासनले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै