९ असार,काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका–६ मा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ।
विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
सप्तरी घर भएका यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए। तर उनी सरुवा स्थानमा हाजिर हुन नपाउँदै दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि कार चालक ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कामका लागि विराटनगरतर्फ जाँदै गर्दा दुर्घटनामा संलग्न भएको बताइएको छ।

















