१० असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा सम्पादन गरेका विभिन्न कूटनीतिक तथा प्रशासनिक कार्यहरूको ४९ बुँदे सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा उच्चस्तरीय भ्रमणदेखि राहदानी वितरण र कन्सुलर सेवासम्मका महत्त्वपूर्ण कामहरू सम्पन्न भएका छन् ।
मन्त्रालयले उल्लेख गरेअनुसार परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको औपचारिक भ्रमण गरेका छन् । विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको भ्रमण गरेका मन्त्री खनालले विकास सहकार्य, व्यापार र ऊर्जाका विषयमा द्विपक्षीय वार्ता गरेका थिए । त्यसैगरी, जेठ ३१ देखि असार ३ गतेसम्म उनले जनवादी गणतन्त्र चीनको पनि चारदिने औपचारिक भ्रमण गरेका छन् ।
नेपालभित्रका गतिविधिमा पनि मन्त्रालय सक्रिय देखिएको छ। जेठ १२ गते काठमाडौँमा युरोपियन युनियन र अन्य मुलुकका राजदूतरनियोग प्रमुखहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग गरेको संयुक्त शिष्टाचार भेटका लागि मन्त्रालयले समन्वय र सहजीकरण गरेको थियो । यसका साथै, संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिद्वारा आयोजित अन्तरक्रियामा मन्त्रालयका प्राथमिकता र नीतिगत विषयहरूमा विस्तृत प्रस्तुतीकरण गरिएको छ ।
साथै, जेठ २८ र २९ गते काठमाडौँमा सम्पन्न भारत–नेपाल सीमापार रेलमार्ग परियोजनासम्बन्धी बैठकमा रेल सेवालाई थप प्रभावकारी बनाउने विषयमा समीक्षा भएको छ । प्रशासनिक सेवातर्फ, जेठ महिनामा १९ थान गैरआवासीय नेपाली परिचय पत्र जारी गरिएका छन् भने कन्सुलर सेवा विभागबाट ७५ हजार ४५३ थान कागजात प्रमाणीकरण गरिएको मन्त्रालयले जनाएको छ । यसै अवधिमा विदेशमा रहेका १२२ जना नेपालीहरूको उद्धार तथा क्षतिपूर्ति र मृत्यु भएका २२ जनाको शव व्यवस्थापनका लागि सहजीकरण गरिएको छ ।
मन्त्रालयका अनुसार राहदानी विभाग, नियोगहरू तथा जिल्ला/इलाका प्रशासन कार्यालयहरूबाट गरी कुल १ लाख १ हजार ३३० थान राहदानी जारी गरिएको छ ।

















