Logo

१० असार,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–३ स्थित शिकारीबासमा पछिल्लो पाँच दिनदेखि जंगली हात्तीको आतंक बढेको छ। रातिको समयमा खेतबारीमा पसेर हात्तीको बथानले पाक्न लागेको चैते धानबाली नष्ट गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्।

स्थानीय बमभोला महतो थारुका अनुसार ९ देखि १२ वटासम्मको हात्तीको बथान राति गाउँ नजिकका खेतमा पुगेर धानबाली सखाप पारिरहेको छ। “दुःख गरेर हुर्काएको धान भित्र्याउने बेला भएको छ, तर हात्तीले केही क्षणमै नष्ट गरिदिन्छ,” उनले भने।

हात्तीको आक्रमणबाट बिगा चौधरी, दिलिप गौरो, सञ्जय चौधरीलगायत किसानको करिब दुई कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भइसकेको छ। किसान बिनोद यादवको असारे धानको बेर्नासमेत हात्तीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

अर्का किसान दुखा महतोले वन्यजन्तुको आतंकका कारण हरेक वर्ष खेतीपाती जोगाउन कठिन हुने गरेको गुनासो गरे। उनका अनुसार धान पाक्ने समयमा हात्तीले क्षति पुर्‍याउने गरेको छ भने अन्य समयमा बदेल, चित्तल र बाँदरले पनि बाली नोक्सान गर्ने गरेका छन्। “अनेक दुःख गरेर लगाएको बाली आधा पनि जोगिँदैन,” उनले भने।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा रहेको शिकारीबासका ५२ घरधुरी मुख्य रूपमा कृषि पेशामा निर्भर छन्। तर वन्यजन्तुको नियमित आक्रमणका कारण कृषिजन्य उत्पादनमा ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयको भनाइ छ।

भौगोलिक रूपमा विकट मानिने शिकारीबास पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब सात किलोमिटर जंगलको बाटो पार गर्नुपर्ने हुन्छ। गाउँमा सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको अभाव रहेको स्थानीय बताउँछन्। वर्षायाममा शिकारीबास खोलामार्फत जाने सडक अवरुद्ध हुँदा आवतजावतसमेत प्रभावित हुने गरेको छ।

गाउँमा कक्षा ५ सम्म मात्र पढाइ हुने विद्यालय रहेको छ। त्यसपछिको अध्ययनका लागि विद्यार्थीले दैनिक करिब २४ किलोमिटर साइकल यात्रा गर्नुपर्ने बाध्यता छ। स्वास्थ्य चौकी भए पनि नियमित स्वास्थ्यकर्मी र पर्याप्त औषधि नहुँदा उपचारका लागि बाहिर जानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी संरक्षण कार्यक्रम, बाली सुरक्षा उपाय तथा क्षतिपूर्ति र राहत व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।


सम्बन्धित समाचार