Logo

११ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा बहने स-साना नदी तथा खोलाहरूमा अचानक  बाढी आउन सक्ने चेतावनी दिएको छ । मनसुनी सक्रियतासँगै वर्षाका कारण साना नदीहरूमा जलसतह बढ्ने महाशाखाको अनुमान छ ।

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार विशेष गरी आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्लाहरू भएर बहने साना नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने देखिएको छ । ती क्षेत्रमा बाढीको मध्यम तथा न्यून जोखिम रहेकाले नदी किनार तथा होचा भूभागका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले सचेत गराएको हो ।

आकस्मिक बाढी र जलसतह बढ्ने यो क्रम भोलि र पर्सी पनि देशका विभिन्न भागमा जारी रहने महाशाखाको प्रक्षेपण छ। आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भएर बहने केही स-साना नदीहरूमा पानीको सतह अचानक बढेर तटीय क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । मनसुनको सुरुवातमा पहाडी क्षेत्रमा हुने वर्षाका कारण साना नदीहरूको बहाव बढ्ने हुँदा ती क्षेत्रमा यात्रा गर्दा वा काम गर्दा विशेष ध्यान दिन मौसमविद्हरूले आग्रह गरेका छन् ।

साना नदीहरूमा बाढीको जोखिम औँल्याइए पनि देशका प्रमुख ठूला नदीहरूको अवस्था भने हाल पूर्ण रूपमा सामान्य र नियन्त्रणमै रहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता प्रमुख ठूला नदीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा निकै तलै छ।

यसका साथै पूर्व र मध्य तराईका कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि अहिले जलसतह सामान्य अवस्थामै बगिरहेको महाशाखाले जनाएको छ। ठूला नदीमा तत्कालै ठुलो बाढीको खतरा नभए पनि साना खोलाहरूको बहाव अनियन्त्रित हुन सक्ने भएकाले स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन समितिहरूलाई ‘अलर्ट’ रहन भनिएको छ।


सम्बन्धित समाचार