१२ असार,काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै इक्वेडर फिफा विश्वकप–२०२६ को नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।
न्युयोर्कको न्यु जर्सीस्थित मैदानमा बिहीबार राति भएको समूह ‘ई’ अन्तर्गतको खेलमा उत्कृष्ट पुनरागमन गर्दै इक्वेडरले जर्मनीमाथि ऐतिहासिक जित दर्ता गरेको हो।
जर्मनीले खेलको दोस्रो मिनेटमै लेरोय सानेको गोलमार्फत अग्रता लिएको थियो। तर, इक्वेडरले सात मिनेटपछि नै खेलमा फर्कँदै निल्सन एङ्गुलोको गोलबाट बराबरी गर्यो।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा इक्वेडरले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो। त्यसको प्रतिफलस्वरूप ७७औँ मिनेटमा निर्णायक गोल गर्दै २–१ को जित निकाल्न सफल भयो।
यस जितसँगै इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यद्यपि, हार बेहोरे पनि जर्मनीले यसअघि लगातार दुई खेल जितेकाले समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाइसकेको थियो।
यसअघि पहिलो पटक विश्वकप खेलेको कुरासाओसँग गोलरहित बराबरीमा रोकिएको इक्वेडरले जर्मनीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो चुनौतीलाई थप बलियो बनाएको हो।
समूह ‘ई’ को अर्को खेलमा आइभोरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै ६ अंकसहित नकआउट चरणमा प्रवेश गरेको छ। यससँगै समूह ‘ई’बाट जर्मनी, इक्वेडर र आइभोरी कोस्टले अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्।

















