Logo

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन यतिबेला आफ्नो निर्णायक मोडमा आइपुगेको छ ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि जारी चुनावी प्रक्रियामा ६ वटा पदाधिकारी पदका लागि ३० जना उम्मेदवारहरू चुनावी मैदानमा आमनेसामने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेसँगै रास्वपाको संगठनात्मक संरचनालाई पूर्णता दिने महाधिवेशनको प्रक्रिया तीव्र बनेको हो ।

चुनावी समीकरणअनुसार उपसभापति (खुला) पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएसँगै नेतृत्वमा उनको बलियो उपस्थिति सुनिश्चित भएको छ । यद्यपि, महिला उपसभापति पदमा भने रोचक चुनावी भिडन्त हुने भएको छ, जहाँ सोविता गौतम र डा.तोसिमा कार्कीले एक–अर्कालाई कडा टक्कर दिँदैछन् । त्यस्तै, पार्टीको ‘पावर सेन्टर’ मानिने महामन्त्री पदका लागि ८ जनाको दाबी कायमै रहँदा यो प्रतिस्पर्धा निकै पेचिलो बनेको छ ।

उता सह–महामन्त्री पदको दौडमा भने आकांक्षीहरूको लर्को देखिएको छ । खुलातर्फ ११ जना र महिलातर्फ ५ जना गरी १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहँदा नेतृत्व चयनको प्रक्रिया थप चुनौतीपूर्ण बनेको छ ।

सभापतिमा रवि लामिछानेको सर्वसम्मत चयन र ९९ जना केन्द्रीय सदस्यहरूको टुंगो लागिसकेको अवस्थामा, आज हुने बाँकी पदाधिकारीको यो निर्वाचनले रास्वपाको आगामी पाँच वर्षको कार्यदिशा र आन्तरिक शक्ति सन्तुलनको तस्वीर स्पष्ट गर्नेछ ।


सम्बन्धित समाचार