१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशन र त्यसका कारण प्रतिनिधि सभाको बैठक पटक–पटक स्थगित भएको विषयले यतिबेला राजनीतिक वृत्तमा चर्को बहस सिर्जना गरेको छ ।
पार्टीको आन्तरिक निर्वाचन लम्बिएकै कारण संसद्को कामकारबाही प्रभावित भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाउनुभएको छ । देशको सर्वोच्च निकाय संसद् र एउटा राजनीतिक दलको अधिवेशनलाई तुलना गर्दै उहाँले ‘देश ठूलो कि पार्टी?’ भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ ।
रास्वपाको महाधिवेशनमा पदाधिकारी चयन प्रक्रिया टुङ्गो नलागेको बहानामा पटक(पटक सदनको बैठक सारिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै साम्पाङले यसको कडा विरोध गर्नुभएको छ । उहाँले सभामुख डिपी अर्याललाई लक्षित गर्दै सदनलाई बन्दी नबनाउन आग्रह गर्नुभएको छ ।
आफ्नो विरोध जनाउँदै साम्पाङले व्यङ्ग्यात्मक रूपमा भन्नुभएको छ, ‘तपाईँहरूको अधिवेशनले गर्दा यतिका दिन यस्तै भयो, अब म दार्चुलातिर लागेँ, बैठक राख्ने नै भए अब एकैचोटि १९ गते मात्रै राख्नुहोला।’
संसदजस्तो गरिमामय थलोलाई दल विशेषको आन्तरिक कार्यतालिकाले प्रभावित पार्नु लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको भन्दै साम्पाङले सभामुख समक्ष ध्यानाकर्षण गराउनुभएको हो ।
रास्वपाको महाधिवेशन लम्बिएका कारण जनसरोकारका मुद्दाहरूमा छलफल हुनुपर्ने सदनको बैठक पटकपटक सर्नुले सदनको मर्यादा र कार्यक्षमतामाथि प्रश्न उठेको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

















