१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
चितवनमा जारी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व टुङ्गो लगाउन आज दोस्रो चरणको निर्वाचन गरिरहेको छ । पार्टी सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने केही महत्त्वपूर्ण पदहरूमा पनि सर्वसम्मतिको अवस्था बनेको छ ।
निर्वाचन समितिले बिहानैदेखि मतदान सुरु गरे पनि दलभित्र सहमतिको वातावरण बनाउन शीर्ष नेताहरू अझै पनि आन्तरिक छलफलमा सक्रिय देखिएका छन् ।
निर्वाचनको रौनक बढ्दै गर्दा पदाधिकारीका लागि कडा प्रतिस्पर्धा देखिएको छ । उपसभापति (पुरुष) मा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भइसकेका छन् भने उपसभापति (महिला) तर्फ सोविता गौतम र तोसिमा कार्की आमनेसामने भएका छन् ।
त्यस्तै, महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालबीच निकै चासोका साथ हेरिएको चुनावी भिडन्त सुरु भएको छ ।
सहमहामन्त्री पदका लागि भने उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ । सहमहामन्त्री (पुरुष) तर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन् ।
उता महिलातर्फ विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मालगायत चुनावी मैदानमा उत्रिएका छन् । मतदान प्रक्रिया सुरु भइसके पनि सहमतिको सम्भावनालाई पूर्ण रूपमा नकारिएको छैन, जसले महाधिवेशनको माहौललाई थप पेचिलो बनाएको छ ।

















