१२ असार, काठमाडौं । खाद्य स्वच्छता र गुणस्तरमा चरम लापरवाही गर्ने पश्चिम नवलपरासीको एक होटल कारबाहीको दायरामा आएको छ ।
बर्दघाट नगरपालिका–२ चिसापानीस्थित ‘रोयल कटेज प्रालि’ ले खानामा अस्वस्थकर वस्तु मिसाएको पाइएपछि प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली अनुगमनको सिलसिलामा उक्त होटलमा खाना खान पुगेका बेला सागभित्र सङ्खे किरा फेला परेपछि यो घटना सतहमा आएको हो ।
घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले होटलमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटलको भान्सामा प्रयोग भइरहेका कच्चा पदार्थ र तयार पारिएका परिकारहरू अत्यन्तै अस्वस्थकर तथा खाद्य मापदण्डविपरीत रहेको पाइएको प्रशासनले जनाएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै मापदण्डको धज्जी उडाएको ठहर गर्दै उक्त कटेजलाई तत्काल ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
केही दिनअघि मात्रै चितवनमा रास्वपा महाधिवेशनका क्रममा गृहमन्त्रीसहितको टोलीले खाएको खाजामा माछाको काँडा भेटिएको घटना सेलाउन नपाउँदै नवलपरासीमा पनि यस्तै प्रकृतिको लापरवाही फेला परेको हो ।
होटल व्यवसायीहरूले गुणस्तरमा देखाएको यस्तो लापरबाहीले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै प्रशासनले आगामी दिनमा अनुगमनलाई अझ तीव्रता दिने चेतावनी दिएको छ ।

















