१२ असार, काठमाडौं । मध्यपूर्वको द्वन्द्वका कारण लामो समयदेखि प्रभावित बन्दै आएको ऊर्जा आपूर्ति प्रणालीमा सुधार आएको छ ।
भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपीजी) मा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्दै सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको घोषणा गरेको छ । होर्मुज जलघाँटीको मार्ग पुनः सञ्चालनमा आएसँगै ऊर्जा ढुवानी सहज बनेपछि भारतले पेट्रोलियम मन्त्रालयमार्फत यस्तो निर्णय लिएको हो ।
पछिल्लो विज्ञप्तिअनुसार, गैर–घरेलु प्याक गरिएको एलपीजीको आपूर्तिलाई सङ्कट पूर्वको अवस्थामा फर्काइएको छ भने रोकिएको बल्क एलपीजी आपूर्तिलाई पनि ५० प्रतिशत क्षमतामा पुनः सञ्चालनमा ल्याइएको छ ।
विश्वकै दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतका लागि मध्यपूर्वी मुलुकहरू ऊर्जाको मुख्य स्रोत हुन् । फेब्रुअरीको अन्त्यबाट अमेरिका र इरानबीच सुरु भएको तनावले हर्मुज जलघाँटीको मार्ग अवरुद्ध हुँदा भारतीय अर्थतन्त्र र ऊर्जा सुरक्षामा गम्भीर दबाब सिर्जना भएको थियो ।
आपूर्ति शृङ्खलामा आएको यही अवरोधलाई चिर्न भारतले केही महिनाअघि एलपीजीको मूल्य वृद्धि गर्नुका साथै करिब चार अर्ब डलरको कोइला ग्यासीकरण परियोजनालाई समेत अगाडि बढाएको थियो ।
हाल अमेरिका र इरानबीच रणनीतिक जलमार्ग खोल्ने सहमति भएसँगै ऊर्जा ढुवानीमा आएको सुधारले बजारमा सकारात्मक सङ्केत दिएको छ । लामो समयको प्रतीक्षापछि हर्मुज हुँदै हुने आपूर्ति व्यवस्था सामान्य बन्दै गएपछि सरकारले बजारलाई पूर्ववत् अवस्थामा फर्काउने प्रक्रिया तीव्र पारेको छ ।
ऊर्जा सङ्कट हटेसँगै यसले भारतको आर्थिक वृद्धिदरमा देखिएको अनिश्चिततालाई पनि कम गर्ने र समग्र अर्थतन्त्रमा राहत पुर्याउने अपेक्षा गरिएको छ ।

















