१२ असार, काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ विचार, राजनीति र कार्यशैलीका साथ पुनर्गठित गर्दै अघि बढाउने उद्घोष गरेका छन् ।
विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको नेतृत्व पुस्तान्तरणको पक्षमा आफू रहेको स्पष्ट पारेका हुन् । उनले युवा पुस्तालाई लक्षित गर्दै नेतृत्व हस्तान्तरण नहुने कुरा केवल अफवाह मात्र भएको दाबी गरे ।
पार्टीभित्र नेतृत्वले नयाँ पुस्तालाई अवसर दिँदैन भन्ने चर्चा बाहिर आएपछि प्रचण्डले त्यसको खण्डन गर्दै भने, ‘तपाईंहरू नेतृत्वले छोड्दैन भन्ने चिन्ता छोड्दिनुस्, अब नेतृत्व तपाईंहरूको हातमा आएको छ । म तपाईंहरूजस्ता योग्य साथीहरूलाई अगाडि आउन अपिल गर्दछु ।’ नेतृत्व हस्तान्तरणको विषयमा फैलाइएको भ्रम पछि नलाग्न कार्यकर्ताहरूलाई सचेत गराउँदै उनले आफूहरू देश र जनताको निम्ति निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रचण्डले देशैभरि क्रान्ति र राष्ट्रिय स्वाधीनताका लागि लड्न तयार हजारौँ इमानदार कार्यकर्ताको पङ्क्ति रहेको औंल्याउँदै अबको रणनीति विचार र सङ्गठनमा आमूल परिवर्तन गर्ने रहेको बताए । ‘नेतृत्व छोड्दैनन् भन्ने भ्रम अमेरिकी साम्राज्यवाद वा प्रतिक्रियावादीले फैलाएको सुनियोजित हल्ला हो, यसमा नअल्झिनुस्,’ उनले थपे ।
सङ्गठनभित्र नयाँ पुस्ताको सक्रिय सहभागिताले नै पार्टीलाई थप शक्तिशाली र गतिशिल बनाउने भन्दै उनले युवा शक्तिलाई उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।

















