Logo

१२ असार,वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरको छैटौं वार्षिक साधारणसभा (6th Annual General Meeting–AGM) शुक्रबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ।

च्याप्टरका अध्यक्ष विश्वास प्रताप साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरिप्रसाद गौतम सहभागी थिए।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले देशको आर्थिक विकास, रोजगारी सिर्जना र निजी क्षेत्रको सुदृढीकरणका लागि युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले नयाँ पुस्ताका उद्यमीलाई नवीन सोच, प्रविधि र व्यवसायिक दक्षतासहित अघि बढ्न आग्रह गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघले युवा उद्यमशीलता प्रवर्द्धनका हरेक प्रयासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले अनुभवी व्यवसायी र युवा उद्यमीबीच सहकार्य, ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उद्यमशीलताको वातावरण थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, बीपीसी कलेजका बासु कर्ण,अर्बिन्द श्रेष्ठ,डा. सुबोध गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष एवं समाजसेवी कमल चौगाई, सुदीप घिमिरे, पंकज अग्रवाल, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, वरिष्ठ उद्योगपति अशोक वैद्य, राकेश मिश्रा, शम्भु प्रसाद गुप्ता, धिरेन्द्र सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष माधव राजपाल, अनूप अग्रवाललगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो भने ममता विद्यालयका स-साना बालबालिकाहरुले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए।

दोस्रो उपाध्यक्ष मोहित गुप्ताले स्वागत मन्तव्य राखेका थिए। साधारणसभामा च्याप्टरले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका कार्यक्रम, योजना र उद्यमशीलता प्रवर्द्धनका नयाँ पहलहरूबारे समेत समीक्षा गरिएको थियो।

यसैगरी, छैटौँ वार्षिक साधारणसभाले चन्दन सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

साधारणसभाले सदस्यहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा भावी कार्ययोजनाबारे साझा धारणा निर्माण गर्दै युवा उद्यमशीलतालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ भने कार्यक्रम संचालन सुर्यानारायण बिकले गरेका थिए।


सम्बन्धित समाचार