Logo

१३ असार,काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच अन्तिम शान्ति सम्झौताका लागि निर्णायक कूटनीतिक वार्ता भइरहेका बेला शुक्रबार दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको दाबी गरिएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानी पक्षबाट युद्धविराम उल्लंघन भएको आरोप लगाउँदै दक्षिणी इरानका रणनीतिक सैन्य ठेगानामा हवाई हमला गरेको जनाएको छ। सेन्टकमका अनुसार हर्मुज जलडमरूमध्यमा इरानी ड्रोनले एक व्यावसायिक मालवाहक जहाजमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो।

अमेरिकी पक्षले क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय रडार केन्द्रलाई लक्षित गरी सैन्य अपरेसन सञ्चालन गरिएको दाबी गरेको छ। सेन्टकमले जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाजमाथिको आक्रमण युद्धविरामको स्पष्ट उल्लंघन भएको उल्लेख गर्दै हर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिकी सेना सक्रिय रहने जनाएको छ।

यता, इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणी बन्दरगाह सिरिक क्षेत्रमा अमेरिकी हवाई आक्रमण भएको पुष्टि गरेका छन्। स्थानीय क्षेत्रमा विस्फोटका आवाज सुनिएको र अमेरिकी क्षेप्यास्त्र प्रहारका कारण क्षति भएको दाबी गरिएको छ।

अमेरिकी कारबाहीपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर नौसैनिक बलमार्फत प्रतिआक्रमण गरिएको जनाएको छ। आईआरजीसीले अमेरिकाले पुनः आक्रमण गरे अझ व्यापक र कडा जवाफ दिने चेतावनी पनि दिएको छ।

इरानी सैन्य स्रोतले हर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको आशंकामा केही जहाजतर्फ चेतावनीस्वरूप गोली र दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ। साथै, युद्धविराम तथा पूर्वसहमतिअनुसार जलमार्गको सुरक्षा व्यवस्थापनको अधिकार इरानलाई रहेको दाबी गर्दै अमेरिकाले नै सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।

यस घटनापछि दुवै देशका शीर्ष नेतृत्वबीच आरोप–प्रत्यारोप पनि तीव्र बनेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इरानले नै युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै असहमति भए वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका छन्। उनले हिंसाको जवाफ हिंसाले नै दिइने चेतावनीसमेत दिएका छन्।

उता, इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि शान्ति वार्ताप्रति प्रतिबद्धता नदेखाएको आरोप लगाएका छन्। उनले युद्धविराम उल्लंघनको परिणाम अमेरिकाले नै भोग्नुपर्ने चेतावनी दिएका छन्।

अन्तिम शान्ति सम्झौताका लागि वार्ता चलिरहेका बेला हर्मुज जलडमरूमध्यमा उत्पन्न नयाँ सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ भने क्षेत्रीय कूटनीतिक प्रयासमाथि पनि प्रश्न उठाएको छ।


सम्बन्धित समाचार