Logo

१३ असार,काठमाडौं । मोरङ प्रहरीले कारागारभित्र कैदीबन्दीको भत्ता तथा अन्य सेवा–सुविधाको रकम दुरुपयोग गरेको आरोपमा विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गिरीलाई शनिबार बिहान विराटनगर महानगरपालिका–११ मधुमारास्थित निवासबाट नियन्त्रणमा लिइएको हो। प्रारम्भिक रूपमा अवैध हतियार लुकाएको आशंकामा प्रहरीले उनको घरमा छापा मारे पनि कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।

हतियार नभेटिएपछि कारागारमा रहेका बेला कैदीबन्दीलाई उपलब्ध गराइने दैनिक भत्ता तथा अन्य रकम दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालका अनुसार गिरीमाथि कैदीबन्दीले पाउने सेवा–सुविधा र भत्ताबापतको रकम असुल गरेको गम्भीर आरोप रहेको छ। सोही विषयमा थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको उनले बताए।

गिरी यसअघि शरीर बन्धक तथा अपहरण मुद्दामा दोषी ठहर भई नौ वर्ष कारागार सजाय भुक्तान गरेका थिए। कारागारमा रहँदा उनी लामो समय मोरङ कारागारको चौकीदारको भूमिकामा रहेका थिए। त्यस क्रममा कैदीबन्दीमाथि दमन र आर्थिक शोषण गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको थियो।

कैद सजाय पूरा गरी दुई वर्षअघि रिहा भएपछि उनले ‘गिरी फाउन्डेशन’ स्थापना गर्दै सामाजिक गतिविधिमा सक्रियता देखाएका थिए। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए। प्रतिनिधिसभा निर्वाचनका क्रममा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको चुनावी अभियानमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार