१४ असार काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले मुलुकमा कम्युनिस्ट आन्दोलनको जगलाई कमजोर पार्न चौतर्फी प्रहार भइरहेको दाबी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित विशेष विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । गत भदौ २४ गतेपछिका घटनाक्रमले देशको राष्ट्रियता र स्वाधीनता कमजोर बन्दै गएको र प्रतिक्रान्तिकारी तत्त्वहरू सल्बलाउन थालेको उहाँको भनाइ थियो ।
संसारभरका प्रतिक्रियावादी शक्तिहरू नेपालबाट कम्युनिस्ट प्रभाव सधैँका लागि नामेट पार्ने खेलमा लागेको आरोप लगाउँदै प्रचण्डले यस संकटबाट बच्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय स्वाधीनताको रक्षा र निरंकुशताको विरुद्धमा सबै वामपन्थी दलहरूबीच छिटोभन्दा छिटो एकता र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।मिल्नका लागि अलिकति पनि ढिलाइ गरे देश ठुलो दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी समेत उहाँले दिनुभएको छ।
वाम एकतालाई सार्थक रूप दिन आफू विगतमा भएका कमीकमजोरीहरूको निर्मम समीक्षा गर्न पूर्ण रूपमा तयार रहेको प्रचण्डले घोषणा गर्नुभयो । देशसामु आइलागेको वर्तमान चुनौतीको सामना एक्लाएक्लै गर्न असम्भव रहेको औंल्याउँदै उहाँले अन्य कम्युनिस्ट नेताहरूलाई पनि आत्मालोचनासहित अगाडि बढ्न आग्रह गर्नुभयो ।
अब संवादका लागि ढिला नगरी आ(आफ्नो ठाउँबाट एकताको सकारात्मक वातावरण निर्माण गर्न उहाँले सबै कम्युनिस्ट घटकहरूलाई आह्वान गर्नुभएको छ ।

















