Logo

१४ असार, काठमाडौं । उपभोक्ताको स्वास्थ्यसँग सिधै जोडिएको औषधि बजारमा ‘सेरोफ्लो रोटक्याप्स’ नामक नक्कली औषधिको अवैध धन्दा सार्वजनिक भएपछि सरकारले आफ्नो अनुगमन प्रणालीलाई एकाएक आक्रामक बनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको विशेष निर्देशनमा बिदाको दिन समेत उपत्यका र आसपासका क्षेत्रमा ६६ वटा फार्मेसीहरूमा आकस्मिक छापा मारिएको छ । सो क्रममा बनेपाको एक औषधि पसलबाट २१ थान नक्कली सेरोफ्लो रोटक्याप्स बरामद भएपछि उक्त पसललाई तत्कालै सिल गरी अनुसन्धानको दायरामा ल्याइएको छ ।

औषधि व्यवस्था विभागका अनुसार महाराजगञ्ज, वीर अस्पताल, चाबहिल, पाटन, जावलाखेल र बालाजु क्षेत्रमा गरिएका ती सघन चेकिङका क्रममा चरम लापरबाही र बेथिति फेला परेका छन् । नवीकरण फेल भएका, म्याद गुज्रिएका औषधि निर्धक्क बेचिरहेका, फर्मासिस्ट नै नराखी पसल चलाउने र न्यूनतम मापदण्ड समेत पालना नगर्ने १५ भन्दा बढी फार्मेसीहरूलाई कारबाहीका लागि बिजुलीबजारस्थित विभागमा हाजिर हुन कडा निर्देशन दिइएको छ ।

यस संवेदनशील घटनापछि विभागले नक्कली औषधिको भण्डारण र उत्पादन गर्ने मुख्य गिरोहको खोजी तीव्र पारेको छ भने सर्वसाधारणलाई पनि औषधि खरिद गर्दा सजग रहँदै आधिकारिक फार्मेसीबाट मात्र बिल लिएर किन्न अपिल गरेको छ ।


सम्बन्धित समाचार