१८ असार,काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट बिल्डिङको प्रतिबन्धित एन्टेना टावरमा अनाधिकृत रूपमा चढेर विवाहको प्रस्ताव राख्ने एक जोडीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो भएको उक्त घटनामा रुसी मूलका चर्चित ‘रुफटपर’ एन्जेला निकोलाउ (३३) र इभान कुज्नेत्सोभ (३२) लाई नियन्त्रणमा लिइएको हो। ‘रुफटपिङ’ अर्थात् सुरक्षा उपकरणबिना अग्ला भवन तथा संरचनामा चढेर जोखिमपूर्ण स्टन्ट गर्ने कार्यका कारण उनीहरू अन्तर्राष्ट्रिय रूपमा परिचित छन्।
प्रहरीका अनुसार कालो पोशाक र अनुहार छोप्ने मास्क लगाएका उनीहरू करिब एक हजार चार सय ५४ फिट (४४३ मिटर) उचाइमा रहेको एम्पायर स्टेट बिल्डिङको सञ्चार टावरको साँघुरो भागसम्म पुगेका थिए। उनीहरूले कुनै सुरक्षा डोरी वा अन्य सुरक्षात्मक उपकरण प्रयोग नगरी टावरमा चढेका थिए।
टावरको माथिल्लो भागमा पुगेपछि उनीहरूले विश्व शान्तिको सन्देश लेखिएको ठूलो ब्यानर प्रदर्शन गरेका थिए। ब्यानरमा लेखिएको थियो, “जब प्रेमको शक्तिले शक्तिको प्रेमलाई जित्छ, तब संसारले शान्ति पाउँछ।”
ब्यानर प्रदर्शनपछि उनीहरू केही तल रहेको सानो प्लेटफर्ममा ओर्लिएका थिए। त्यही क्रममा इभान कुज्नेत्सोभले घुँडा टेकेर एन्जेला निकोलाउलाई विवाहको प्रस्ताव राखेका थिए। एन्जेलाले प्रस्ताव स्वीकार गरेपछि दुवैले एकअर्कालाई अँगालो हाल्दै चुम्बन गरेका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा देखिएका छन्।
उनीहरूले टावरको अत्यधिक उचाइबाट औँठी र न्युयोर्क सहरको दृश्यसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियो र तस्वीरहरू सार्वजनिक भएसँगै घटना सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
एन्जेला निकोलाउ र इभान कुज्नेत्सोभ यसअघि पनि विभिन्न अग्ला भवन र संरचनामा जोखिमपूर्ण स्टन्ट प्रदर्शन गर्दै आएका छन्। उनीहरूको साहसिक जीवनशैलीमाथि आधारित ‘स्काईवाकर्स: ए लभ स्टोरी’ नामक वृत्तचित्र सन् २०२४ मा नेटफ्लिक्समार्फत सार्वजनिक भएको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ न्युयोर्क प्रहरीको आपतकालीन उद्धार टोली, विशेष सुरक्षा इकाइ तथा हेलिकप्टर परिचालन गरिएको थियो। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै एम्पायर स्टेट बिल्डिङ आसपासका केही सडकहरू अस्थायी रूपमा बन्द गरिएको थियो।
टावरबाट सुरक्षित रूपमा तल झरेलगत्तै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
अमेरिकी प्रहरीले उनीहरूमाथि एम्पायर स्टेट बिल्डिङको अति संवेदनशील तथा प्रतिबन्धित क्षेत्रमा अनधिकृत प्रवेश गरेको, चोरी, सर्वसाधारणको सुरक्षामा जोखिम उत्पन्न गरेको तथा आपराधिक घुसपैठलगायतका विभिन्न अभियोगमा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले यस्ता जोखिमपूर्ण गतिविधिले सम्बन्धित व्यक्तिको ज्यानमात्र होइन, उद्धारमा खटिने सुरक्षाकर्मी र सर्वसाधारणको सुरक्षामा समेत गम्भीर असर पार्ने भएकाले यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट गरेको छ।



















