१८ असार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति संवेदनशील मानिने ‘प्रतिबन्धित क्षेत्र’मा प्रवेशका लागि जारी गरिएका चार हजार ७२ वटा प्रवेश पास पूर्वकर्मचारीका नाममा अझै पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययनले सरुवा, अवकाश वा राजीनामा दिइसकेका व्यक्तिहरूको पहुँच अझै विमानस्थलको निषेधित क्षेत्रसम्म रहेको खुलासा गरेपछि सुरक्षा चुनौती बढेको छ । यस विषयमा गम्भीर बन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल कार्यरत नरहेका ती पुराना पासहरू निष्क्रिय बनाउने कार्यलाई तीव्रता दिएको छ ।
प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार अहिलेसम्म ५०७ वटा पास सङ्कलन गरी नष्ट गरिसकिएको छ भने बाँकी पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र गर्नुका साथै व्यक्तिगत रूपमा समेत सम्पर्क गर्ने कार्य भइरहेको छ ।
विमानस्थलमा रहेका २०१ वटा विभिन्न सरकारी तथा निजी संस्थाहरूले नियुक्त गर्ने कर्मचारीको विवरण एकीकृत रूपमा नहुँदा पास व्यवस्थापनमा कठिनाइ भइरहेको देखिएको छ । ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८०’ अनुसार जिम्मेवारीबाट हटेको तीन दिनभित्र पास फिर्ता गर्नुपर्ने प्रावधान रहे पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा सुरक्षा जोखिम बढेको हो।
संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्री कार्यालयको विशेष चासो र निर्देशनपछि प्राधिकरणले पास निष्क्रिय गर्ने प्रक्रियालाई तीव्रता दिएको छ ।



















