१८ असार,काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख–हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले सार्वजनिक सवारीका यात्रुलाई अनावश्यक हैरानी दिने, जबर्जस्ती सवारीसाधनतर्फ तान्ने तथा झोला खोस्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नयाँ बसपार्क क्षेत्रमा यात्रुहरूलाई विभिन्न किसिमले दुःख दिने व्यक्तिहरू सक्रिय रहेको भन्ने जनगुनासो बढेपछि विशेष निगरानीसहितको अभियान सञ्चालन गरिएको थियो। सोही अभियानका क्रममा २३ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए।
पक्राउ पर्नेहरूमा रुपन्देहीका डोलराज सेन र रोहित विक, गोरखाका प्रदीप भुजेल, जुम्लाका लोकदर्शन पाण्डे, बाँकेका सन्देश शाही र मिलन भण्डारी, दाङका रमेश खत्री, विकास घर्ती, प्रकाश खत्री, विजय नेपाली र रिजन घर्तीमगर, रोल्पाका किरण पुन, कास्कीका सन्तोष शाही, डडेलधुराका शिवराज भट्टराई, मुगुका कविराज रोकाय, उदयपुरका जितबहादुर मगर, कैलालीका कृष्णप्रसाद कठरिया, पदम ओली, दीपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट तथा स्याङ्जाका कमल ज्ञवाली रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
ट्राफिक प्रहरीले नयाँ बसपार्क क्षेत्रमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता गतिविधि नियन्त्रण गर्न नियमित निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। बसपार्कमा यात्रुलाई जबर्जस्ती सवारीमा चढाउन खोज्ने, सामान तान्ने वा अन्य कुनै प्रकारको हैरानी भए तत्काल प्रहरीलाई जानकारी गराउन पनि ट्राफिक प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरीका अनुसार यात्रुमैत्री, सुरक्षित र व्यवस्थित बसपार्क निर्माण गर्ने उद्देश्यले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।



















