Logo

१९ असार, चितवन । भरतपुर महानगरपालिका–१२, नौरङ्गेमा १६ वर्षीय किशोर रिदम पराजुलीमाथि भएको सामूहिक कुटपिट र चक्कु प्रहारको घटनाले चितवन प्रहरीको अनुसन्धान प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

घटनाको प्रकृति हेर्दा ज्यानै लिन सक्ने उद्देश्यका साथ योजनाबद्ध रूपमा आक्रमण गरिएको देखिए पनि घटना भएको झण्डै तीन साता बितिसक्दा समेत मुख्य आरोपितहरू पक्राउ नपर्नुले प्रहरीको कार्यशैली र अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्नचिन्ह खडा भएको छ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दर्ता गराइसकेको छ। जाहेरीमा मुख्य योजनाकारका रूपमा मिसन पौडेलको नाम उल्लेख छ भने विशेष लो, इभन गुरुङ, जेनिस गुरुङ तथा एक जना अन्य व्यक्तिसमेत संलग्न रहेको दाबी गरिएको छ।

घटनालाई अझ गम्भीर बनाउने अर्को पक्ष पनि बाहिर आएको छ। पीडित परिवारका अनुसार रिदममाथि चक्कु प्रहार गर्न प्रयोग गरिएको छुरा आक्रमणपछि एक जना संलग्न युवकले आफ्नै सामाजिक सञ्जालमा प्रदर्शन गरेको देखिन्छ। उक्त तस्बिर तथा त्यससम्बन्धी सामग्रीसमेत प्रहरीले प्रमाणका रूपमा पाइसकेको परिवारको दाबी छ।

परिवारका अनुसार घटनास्थलमा जडान गरिएको सीसीटीभी क्यामेरामा आक्रमणमा संलग्न व्यक्तिहरूको अनुहार, हुलिया र गतिविधि स्पष्ट देखिन्छ। ती फुटेज अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइसकिएको छ। यति मात्र होइन, आरोपितहरू प्रयोग गरिरहेका मोबाइल नम्बर, फेसबुक आईडी तथा अन्य सामाजिक सञ्जालका विवरणसमेत प्रहरीलाई उपलब्ध गराइएको पीडित पक्षको भनाइ छ। उनीहरूको दाबीअनुसार ती सामाजिक सञ्जालहरू अझै सक्रिय अवस्थामा छन्।

तर, यति धेरै प्रमाण र पहिचानका आधारहरू हुँदाहुँदै पनि प्रहरीले आरोपितहरूलाई नियन्त्रणमा लिन प्रभावकारी कदम नचालेको भन्दै पीडित परिवारले गम्भीर असन्तुष्टि जनाएको छ। घाइते रिदमकी हजुरआमा भक्कानिँदै भन्छिन्, “छुरा हानेपछि त्यही छुरा सामाजिक सञ्जालमा देखाउनेसम्मको हर्कत भयो। सीसीटीभीमा अनुहार प्रष्ट देखिन्छ। मोबाइल नम्बर, फेसबुक सबै चलिरहेको छ। यति हुँदा पनि प्रहरीले “फरार छन्” मात्रै भन्छ। खोज्ने इच्छाशक्ति नै देखिएन। हामीलाई त न्याय पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लागेको छ।

घटना २०८३ जेठ ३१ गते भरतपुर–११ र १२ को सिमानास्थित नौरङ्गेचोकमा भएको थियो। परिवारका अनुसार मिसन पौडेलले फोन गरेर भेट्न बोलाएका थिए। रिदम त्यहाँ पुग्नेबित्तिकै पाँच जनाको समूहले एक्कासि निर्घात कुटपिट गर्यो र भाग्ने क्रममा पछाडिबाट चक्कु प्रहार गरियो। गम्भीर घाइते भएका रिदमलाई भरतपुर अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको थियो, जहाँ दुई पटक शल्यक्रिया गरिएको थियो। उनी १६ दिन अस्पतालमा बसेपछि अहिले घरमै उपचाररत छन्।

परिवारका अनुसार रिदम र मिसन पौडेल ग्रीनल्यान्ड बोर्डिङ स्कुलका सहपाठी हुन्। विद्यालयको होस्टेलमा हराएको एउटा ज्याकेटलाई लिएर सुरु भएको सामान्य विवादपछि मिसनले रिदमप्रति रिस राख्दै आएको र घरमै पुगेर हजुरआमालाई समेत “छोड्दिन” भन्दै धम्की दिएको आरोप छ।

घटनापछि असार ३ गते ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भयो। तर त्यसयता अनुसन्धानको गति भने अत्यन्तै सुस्त रहेको पीडित पक्षको आरोप छ। परिवारका अनुसार अदालतबाट आवश्यक पक्राउ पुर्जी लिने प्रक्रिया समेत समयमै अघि बढ्न सकेको छैन।

सबैभन्दा गम्भीर प्रश्न भने प्रहरीले दिएको प्रतिक्रियाबाट उठेको छ। पीडितका बुवा रवि पराजुलीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवसँग भेट्दा उनले “हामी खोजिरहेका छौ, भन्दै प्रहरी हरि भट्टराईको मोबाइल नम्बर दिएका थिए र “कतै देख्नुभयो भने खबर गर्नुहोस्” भनेका थिए। यही भनाइले पीडित परिवारलाई झन् स्तब्ध बनाएको छ।

उनीहरूको प्रश्न छ—अपराधी खोज्ने जिम्मेवारी नेपाल प्रहरीको हो कि ज्यान जोगाउन संघर्ष गरिरहेको पीडित परिवारको ? यदि पीडितले नै अपराधी खोजेर प्रहरीलाई खबर गर्नुपर्ने हो भने राज्यको अनुसन्धान संयन्त्रको औचित्य के रहन्छ ?

कानुन कार्यान्वयनका जानकारहरूका अनुसार ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधमा किटानी जाहेरी, प्रत्यक्ष प्रमाण, सीसीटीभी फुटेज र पहिचान खुलेका आरोपित हुँदा प्रहरीले तत्काल खोजतलास, निगरानी र पक्राउ प्रक्रिया तीव्र बनाउनुपर्ने हुन्छ। तर यस घटनामा त्यस किसिमको सक्रियता देखिएको छैन भन्ने आरोपले अनुसन्धानमाथि थप प्रश्न उठाएको छ।

स्थानीयवासी पनि प्रहरीको भूमिकाप्रति असन्तुष्ट छन्। उनीहरू भन्छन्, मुख्य सहरको व्यस्त क्षेत्रमा दिनदहाडै सामूहिक आक्रमण र चक्कु प्रहार हुन्छ, तर आरोपितहरू हप्तौँसम्म खुलेआम हिँड्न सक्छन् भने सर्वसाधारणले सुरक्षाको अनुभूति कसरी गर्ने ?

यता पीडित परिवारले मिसन पौडेलकी आमा सुनिता पौडेलले उपचार खर्चमा सहयोग गरिरहेको स्वीकार गरेको छ। तर उनीहरूको स्पष्ट भनाइ छ—आर्थिक सहयोगले आपराधिक घटनाको कानुनी दायित्व समाप्त हुँदैन। उपचार खर्च सहयोग गर्नु एउटा मानवीय पक्ष हुन सक्छ, तर हत्या प्रयासजस्तो गम्भीर अभियोगमा कानुनअनुसार अनुसन्धान र कारबाही हुनु अनिवार्य रहेको उनीहरूको माग छ।

अहिले पनि रिदम पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्। उनका हजुरआमा नातिको ओछ्यानछेउमा बसेर भक्कानिँदै भन्छिन्, “मेरो नातिलाई अपाङ्गजस्तै बनाए। धन्न बाँच्यो। फेरि आक्रमण गर्लान् कि भन्ने डरले हामी अझै त्रसित छौँ।”

यो घटनाले चितवन प्रहरीको अनुसन्धान क्षमतामात्र होइन, नियतमाथि समेत सार्वजनिक रूपमा प्रश्न उठाएको छ। पहिचान खुलेका, किटानी जाहेरीमा नाम उल्लेख भएका र प्रमाणसमेत उपलब्ध रहेका आरोपितहरू लामो समयसम्म पक्राउ नपर्नु केवल अनुसन्धानको सुस्तता हो कि त्यसपछि अर्को कुनै प्रभाव, दबाब वा साँठगाँठले काम गरिरहेको छ भन्ने प्रश्न अहिले सार्वजनिक चासोको विषय बनेको छ। यद्यपि, यस्ता आरोपहरू प्रमाणित भइसकेका छैनन् र सम्बन्धित निकायबाट त्यसबारे औपचारिक पुष्टि भएको छैन।

अब सम्बन्धित निकायले अनुसन्धान किन ढिलो भयो, पक्राउ प्रक्रिया कहाँ अड्कियो र आरोपितहरू अझै किन नियन्त्रणमा आउन सकेनन् भन्ने विषयमा स्पष्ट, तथ्यपरक र विश्वसनीय जवाफ दिनुपर्ने माग स्थानीयवासी र पीडित परिवारको छ। उनीहरूले निष्पक्ष अनुसन्धान, आरोपितहरूको शीघ्र पक्राउ तथा कानुनबमोजिम कारबाहीमार्फत पीडितलाई न्याय दिलाउन सरकार र प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक रामेश्वर पौडेलले आरोपिहरु विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको बताए । उनका अनुसार अपराधमा संलग्न युवाहरु फरार थिए, उनीहरुलाई नियन्त्रणमा लिने काम भइरहेको र उनीहरु छिट्टै पक्राउ पर्ने एसपी पौडेलले जानकारी दिए ।


सम्बन्धित समाचार