Logo

१९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको गहवा बाल उद्यान तथा शिशु स्याहार केन्द्र वडा कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघमार्फत सञ्चालित ‘समृद्ध महिला, सुखी नेपाल’ (ईडब्लुपीएन) कार्यक्रमअन्तर्गत स्थापना गरिएको शिशु स्याहार केन्द्र शुक्रबार एक कार्यक्रमबीच वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगार समितिका सभापति प्रबलजंग पाण्डेले वीरगञ्ज महानगरपालिका–८ का वडा अध्यक्ष रितेश कुमार गुप्तालाई शिशु स्याहार केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले महिलाको श्रम बजारमा सहभागिता बढाउन र उनीहरूलाई पारिवारिक जिम्मेवारीसँगै रोजगारीमा सहज वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार केन्द्रको अवधारणा अघि सारिएको बताए। निजी क्षेत्रसँगको सहकार्यमा महिला तथा बालबालिकामैत्री कार्यस्थल निर्माणमा यस्ता केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थानीय सरकारसँगको सहकार्यमा महिला र बालबालिकामैत्री कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सकारात्मक अभियानमा संघको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

आईएलओ मधेस प्रदेशका संयोजक महेन्द्र सहनीले श्रम बजारमा महिलाको सहभागिता बढाउन स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। पारिवारिक तथा सामाजिक जिम्मेवारीका कारण धेरै महिला रोजगारीमा सहभागी हुन नसक्ने अवस्था रहेकाले शिशु स्याहार केन्द्रले उनीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बालबालिकाको प्रारम्भिक विकासका लागि शिशु स्याहार केन्द्र अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता पहललाई विस्तार गर्नुपर्नेमा जोड दिए।

वीरगञ्ज महानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्य, वडा नं. ८ का जनप्रतिनिधि, वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय समाजसेवी तथा सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले कार्यक्रम सञ्चालन र हस्तान्तरण प्रक्रियाबारे जानकारी गराएकी थिइन्।


सम्बन्धित समाचार