१९ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै पक्षलाई सचेत गराउँदै अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै बोर्डले सेवा प्रदायक संस्थालाई गत मंसिर मसान्तसम्मको दाबी भुक्तानी भइसकेको र त्यसपछिको रकम व्यवस्थापनका लागि सरकारसँग पहल भइरहेको जनाएको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म २३ अर्ब ४४ करोडभन्दा बढी रकम भुक्तानी भइसकेको उल्लेख गर्दै बोर्डले पुस महिनायताको बाँकी बक्यौता फरफारकका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गर्ने कार्य निरन्तर भइरहेको स्पष्ट पारेको छ ।
भुक्तानी प्रक्रियामा भइरहेको ढिलाइका बीच कुनै पनि स्वास्थ्य संस्थाले बिरामीको उपचार सेवामा अवरोध नगर्न बोर्डले निर्देशन दिएको छ । यस्तै, स्रोतको उचित व्यवस्थापन र बीमा कार्यक्रमको दिगोपन कायम राख्न बोर्डले बीमितहरूलाई आवश्यकताभन्दा बढी परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब नदिन विशेष अनुरोध गरेको छ ।
स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न र निर्धारित मापदण्डभित्र रहेर मात्र सेवा प्रवाह गर्न सबै सेवा प्रदायकलाई सचेत गराउँदै बोर्डले यस असहज अवस्थामा धैर्यता अपनाएर सहकार्य गर्न आग्रह गरेको छ ।




















