Logo

१९ असार,वीरगञ्ज । वीरगञ्जमा सडक सीमा संरक्षण तथा अतिक्रमण हटाउने अभियान पुनः तीव्र पारिएको छ। सडक विभाग डिभिजन कार्यालय हेटौंडाले शुक्रबारदेखि गण्डक क्षेत्रबाट सडक सीमाभित्र रहेका संरचना पूर्ण रूपमा हटाउन पुनः डोजर परिचालन गरेको हो।

सडक विभागका इन्जिनियर दुर्गाप्रसादका अनुसार केही दिनअघि सडक सीमाभित्र अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य संरचनामा डोजर चलाएर भत्काइएको थियो। त्यसपछि सम्बन्धित घरधनीलाई भत्किएका संरचना, निर्माण सामग्री तथा अन्य सामान आफैं हटाई क्षेत्र खाली गर्न निर्देशन दिइएको थियो।

तर अधिकांश घरधनीले अझैसम्म संरचना पूर्ण रूपमा खाली नगरेकाले विभागले पुनः डोजर परिचालन गरी सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

विभागका अनुसार शुक्रबार विशेष रूपमा विद्युत् लाइन विच्छेद भइसकेका घर तथा संरचनाहरू पूर्ण रूपमा हटाउने कार्य भइरहेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार वीरगन्जका मुख्य सडकलाई दायाँ–बायाँ २५/२५ मिटर कायम गर्दै फराकिलो बनाउने योजनाअन्तर्गत सडक विभागले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको हो। सोही योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गण्डक क्षेत्रबाट पुनः डोजर परिचालन गरिएको विभागले जनाएको छ।

सडक विभागले सडक सीमाभित्र परेका संरचना समयमै स्वेच्छाले खाली गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै अन्यथा प्रचलित कानुनबमोजिम हटाउने प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।


सम्बन्धित समाचार