Logo

 २० असार,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। भारतले ‘एक्ट इस्ट’ नीतिअन्तर्गत क्षेत्रीय रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जुलाई ८ देखि ११ तारिखसम्म हुने चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले तीन देशका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्दै समुद्री सुरक्षा, रक्षा, व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल गर्नुहुनेछ।

भ्रमणको पहिलो चरणमा मोदी जुलाई ८ र ९ मा इन्डोनेसियामा रहनेछन्। भारतीय विदेश मन्त्रालयका अनुसार यस क्रममा दुई देशबीचको समुद्री सुरक्षा, रक्षा सहयोग, व्यापारिक सम्बन्ध तथा सांस्कृतिक आदान–प्रदानको प्रगतिको समीक्षा गरिनेछ।

त्यसपछि जुलाई १० मा प्रधानमन्त्री मोदी अस्ट्रेलियाको मेलबर्न पुग्ने कार्यक्रम छ, जहाँ तेस्रो भारत–अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा आर्थिक साझेदारी, क्षेत्रीय सुरक्षा र रणनीतिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणको अन्तिम चरणमा मोदी जुलाई ११ मा न्युजिल्यान्ड पुग्नेछन्। यस वर्ष अप्रिल २७ मा हस्ताक्षर भएको भारत–न्युजिल्यान्ड स्वतन्त्र व्यापार सम्झौतापछि हुन लागेको यो भ्रमणलाई दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ। उक्त सम्झौताअनुसार न्युजिल्यान्डले भारतीय निर्यातमा १०० प्रतिशत भन्सार शुल्क हटाएको छ भने आगामी १५ वर्षमा २० अर्ब अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता सुनिश्चित गरिएको छ।

भारत सरकारले यस भ्रमणलाई हिन्द–प्रशान्त क्षेत्रमा कूटनीतिक सक्रियता बढाउने तथा प्रमुख साझेदार राष्ट्रसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ।


सम्बन्धित समाचार
भर्खरै