Logo

२० असार,काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न पार्टी नेतृत्व सक्रिय भएको छ। विवाद मिलाउन कांग्रेसका महामन्त्री गुरुराज घिमिरे शुक्रबार साँझ हेटौंडा पुगेका छन्।

महामन्त्री घिमिरेले आज मुख्यमन्त्री तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बजेटप्रति असन्तुष्ट पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षधर सांसदहरू तथा अन्य नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, मुख्यमन्त्री बानियाँले आज कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। बजेटमाथिको छलफल बहिष्कार गर्दै १६ असारदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेका असन्तुष्ट सांसदहरू पनि हेटौंडा आउने क्रम जारी रहेको बताइएको छ। कांग्रेसका बागमती प्रदेशसभामा ३६ सांसद छन्।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि बजेट पारित गर्ने तयारी सरकारको छ।

बजेट विवादको पृष्ठभूमि

बागमती सरकारले १ असारमा ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। तर पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा निकट सांसदहरूले बजेट निर्देशिकाविपरीत विनियोजन गरिएको, केही निर्वाचन क्षेत्र केन्द्रित वितरणमुखी बजेट ल्याइएको, जनअपेक्षाअनुसार सन्तुलित बजेट नआएको तथा सुझाव बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले बजेट निर्माणमा बिचौलियाको प्रभावसमेत परेको आरोप लगाएका छन्।

असन्तुष्ट पक्षले मुख्यमन्त्री बानियाँले अध्यादेशमार्फत बजेट पारित गर्ने अभिव्यक्ति दिएको, विपक्षी दलको सहयोगमा बजेट पास गर्ने चेतावनी दिएको तथा प्रदेशसभा बैठकमा अनुपस्थित हुने सांसदमाथि कारबाहीको संकेत गरेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

विवाद चर्किएपछि मुख्यमन्त्री बानियाँ गत साता काठमाडौं पुगेर पार्टी नेतृत्वसँग छलफल गरेका थिए भने हेटौंडा फर्किएपछि आन्तरिक सहमति जुटाउने प्रयास गरिरहेका छन्। उता असन्तुष्ट पक्षले बजेट सार्वजनिक भएलगत्तै संसदीय दलको बैठक बोलाउन आग्रह गरे पनि त्यसलाई बेवास्ता गरिएको आरोप लगाएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि कांग्रेस नेतृत्वले महामन्त्री गुरुराज घिमिरेलाई हेटौंडा पठाएको हो।

उल्लेखनीय रूपमा, एक वर्षअघि तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले चालु आर्थिक वर्षको बजेट ल्याउँदा पनि कांग्रेसभित्र यस्तै विवाद उत्पन्न भएको थियो। त्यसपछि विकसित राजनीतिक घटनाक्रममा बहादुरसिंह लामा संसदीय दलको नेताबाट हटेका थिए भने इन्द्रबहादुर बानियाँ २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए।


सम्बन्धित समाचार